नेकपा (एमाले)निकट युवा संघ नेपालले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै खरेलाई चार महिना कार्यकाल बाँकी हुँदै निलम्बन गरिएपछि एमाले भित्रको विवाद भातृ संस्थामा पनि सल्किएको स्पष्ट हुन्छ । युवा संघले उनलाई एक वर्ष निलम्बन गर्नुमा पार्टी नेतृत्वविरुद्ध अशोभनीय गतिविधि गरेको भनेको छ । शिलापत्रकर्मी मिलन बुढाथोकीले उनै खरेलसँग लिएको प्रतिक्रिया :
तपाईंलाई किन कारबाही गरिएको रहेछ ?
नेतृत्वको सधैँ चाकडी गर्दा चाहिँ सही तर अलिकति विधि र प्रक्रियाको कुरा उठाउने बित्तिकै गलत भयो भन्न पश्चगामी विचार बोकेकालाई सधैँ कहाँ साथ दिन सकिन्छ ? मैले उठाएको आवाज भनेकै पार्टी विधिसंवत्, लोकतन्त्रिक प्रक्रियामा चल्नुपर्छ भन्ने हो । प्रतिशोधपूर्ण ढङ्गले कारबाही गरियो । तर, डराएर खुट्टा कमाइँदैन ।
तपाईंले उठाएको विषय चाहिँ के थियो ?
मैले विधान बमोजिम दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था हटाउन हुँदैन, त्यो ठीक होइन भन्ने विचार राखेको थिएँ । अहिले विधान संशोधन प्रस्तावका विषयमा नेता, कार्यकर्ताका धारणा त आइहाल्छन् नि । विचारमा विविधता त हुने नै भयो । तर, पार्टी नेतृत्वको पक्षधर भनिएकाहरूले हुर्मत लिने प्रयास गरे । असार २५ गते पहिले स्पष्टीकरण सोधियो । मैले २६ गते नै म माथि उठाइएका प्रश्नहरूको जवाफ पठाइसकेको थिएँ ।
तपाईंलाई त विद्यादेवी भण्डारी पक्षको भनेर कारबाही गरे भन्ने छ नि ?
म यो त्यो पक्षभन्दा पनि विधि र नीतिको पक्षमा हो । केपी शर्मा ओलीले अहिलेसम्म पार्टीलाई नेतृत्व गरेको यो समय स्वर्णिमकाल हो । उहाँले सहज रूपमा नेतृत्व छाडेर नयाँ नेतृत्व ल्याउनुपर्छ । यसो गर्दा पार्टी अझै चलायमान होस, एकीकृत होस्, सबल र दृढ होस् भन्ने विचार राख्दा कसैको कित्तामा पुगेको भनिन्छ भने हच्किएर आफ्नो विचार राख्न पछि हटिन्न नि ।
अब तपाईं कारबाहीमै परिसक्नु भो नि, तपाईंको विचारको के अर्थ रहला ?
मैले यो कारबाहीलाई गम्भीर रूपमा लिएको छु । संगठनभित्रका फरक मतलाई स्वीकार्न सकिएन भने त पार्टी संगठन कसरी चल्ला र ? उहाँहरूले यो निर्णय सच्याउनुपर्छ । सच्याउनुहुन्छ भन्ने लागेको छ ।
यदी निर्णय सच्चिएन भने के गर्नुहुन्छ ?
म धिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति हुँ । मेरो संगठनमा बहुमत छ । अहिलेसम्म मैले लुम्बिनीका १० जिल्ला अध्यक्षसँग कुरा गरिसकेको छु । उहाँहरु मेरो पक्षमै हुनुहुन्छ । चार महिनासम्म ढुक्कले संगठन चलाउँछु । युवालाई पार्टीमा जोड्ने काममा सक्रिय हुनेछु । एमालेलाई युवामय बनाउने र रचनात्मक गतिविधिमार्फत् पार्टीमा जोड्ने कार्यमा तल्लीन हुनेछ ।
तपाईं त कारबाहीमा परिसक्नु भयो, कसरी संगठनका गतिविधि गर्नुहुन्छ ?
अब मेरो वैचारिक र राजनीतिक हिसाबको लडाइँ सुरु भयो । पार्टी बलियो बनाउने जबजको मान्यता अनुरुप आलोचनात्मक चेत हरायो । विधि र पद्धतिको अन्त्य गरियो । हामीले अब उठाउने विषय यही हो । हरेक संगठनलाई जीवन्त बनाउने प्रतिस्पर्धी विचार र स्वस्थ आलोचनाबाट नै हो । यसलाई विरोध ठान्नेहरू पश्चगामी सोचका साथीहरू हुन् । उनीहरूलाई कसैगरी साथ दिन सकिँदैन ।
खासमा म भर्खरै सम्पन्न युवा संघको निर्वाचनमा सुमन पुरी उमेदवार हुँदा उनकै पक्षको प्रतिनिधि थिएँ । त्यहाँ के कस्ता गलत हर्कत भए भन्ने कुराको साक्षी हुँ । त्यतिबेलै गलत कार्यको प्रतिवाद गरेको हुँ । मलाई उबेलै टार्गेट गरेकै हुन् ।
हामी युवामा त प्रगतिशील सोच हुनुपर्छ । रचनात्मक कार्यमार्फत् पार्टी हितमा तत्पर भएका युवालाई यसरी अपमान गर्ने कार्य कदापि सह्य हुँदैन । हाम्रो राजनीतिक लडाइँ हो यो । रचनात्मक ढङ्गले राजनीतिक प्रतिवाद हुनेछ ।
हामी चुप बस्दैनौँ । हत्केलाले सूर्य छेकेर कहाँ छेक्न सकिन्छ र ?
https://shilapatra.com/detail/164805?fbclid=IwY2xjawMgqDJleHRuA2FlbQIxMQABHjLL830d1pQ1buv9BXOYaVwkywnqQOiP-v1LgzaI5l6OcZWdsScXyesRJeny_aem_YQuP-vzcuhJIELbUPCSvfw